काठमाडौ । नजिकिदै गरेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सात प्रदेशका ७७ जिल्लाका १ करोड ५४ लाख २७ हजार ७३१ मतदाताले मतदानको अधिकार प्राप्त गरेका छन् । निर्वाचन आयोगले सातै प्रदेशको निर्वाचन क्षेत्रगत अन्तिम मतदाता संख्या स्वीकृत गरेको छ । आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कूल मतदाता संख्यामध्ये पुरुष ७७ लाख ७६ हजार ४९६, महिला ७६ लाख ५१ हजार ६५ र तेस्रो लिङ्गी मतदाता १७० जना छन् ।
सरकारले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन मिति घोषणा गरेको दिन अर्थात् २०७४ भदौ ५ गतेसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताको नाम उक्त मतदाता नामावलीमा समावेश गरिएको आयोगले जनाएको छ । वीकृत मतदाता नामावलीअनुसार, प्रदेश १ मा २९ लाख ९३ हजार ६६९ प्रदेश २ मा २७ लाख ६७ हजार ३६९ प्रदेश ३ मा ३० लाख ७४ हजार ४१२ प्रदेश ४ मा १५ लाख ६८ हजार ८२९ प्रदेश ५ मा २७ लाख ४० हजार ८४८ प्रदेश ६ मा ८ लाख ४६ हजार ९३३ र प्रदेश ७ मा १४ लाख ३५ हजार ६७१ मतदाता छन् ।
निर्वाचनको मिति घोषणा भएपछि सो निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न नसकिने भएको हुँदा अब नयाँ नाम दर्ता नहुने र ठाउँसारी पनि नहुने व्यवस्था मतदाता नामावली ऐन, २०७३ ले व्यवस्था गरेको छ । आगामी मंसीर १० र २१ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि मतपत्र छपाईको कार्य
असोज १५ गते बाट सुरु भइसकेको छ । मतपत्र छपाईको जिम्मा जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले लिएको छ ।
यसैबीच निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गर्ने निर्णय गरेको छ । आयोगलेमा ७७ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र ८८ जना नेपाल न्यायसेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गर्ने निर्णण गरेको छ ।

comments