काठमाडौ । चालू आर्थिक वर्षको भदौ महिनामा ३१ हजार ८६ जना जना नेपाली कामदार वैदेशिक रोजगारीमा गएका छन् । त्यसमध्ये महिला कामदारको संख्या १ हजार ८ सय ३३ रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । यो महिना पनि साउनमा जस्तै मलेसिया पहिलो गन्तव्य बनेको छ ।
विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो महिना साउनको तुलनामा भदौमा संस्थागत रूपमा वैदेशिक रोजगारीमा जानेको संख्या करीब ३ हजार जनाले बढेको छ । साउन महिनामा संस्थागत रूपमा २८ हजार १ सय २१ जना कामदार वैदेशिक रोजगारीमा गएका थिए । अघिल्लो आर्थिक वर्षको भदौको तुलनामा भने १ हजार ६ सय ८३ जनाले घटेको छ । गत वर्ष भदौ महिनामा ३२ हजार ७ सय ६९ जना कामदार संस्थागत रूपमा वैदेशिक रोजगारीमा गएका थिए ।
तथ्याङ्क अनुसार भदौ महिनामा सबैभन्दा बढी नेपाली कामदार मलेसिया गएका छन् । खाडी मुलुकमा देखिएको मन्दी र मलेसियन रिंगिटमा आएको केही सुधारले मलेसियामा रोजगारीमा जाने कामदारको संख्यामा सुधार देखिएको हो । तथ्यांक अनुसार साउन महिनामा मलेसियामा ११ हजार १ सय ६७ जना गएका थिए भने भदौ महिनामा त्यस भन्दा ८ सय ८३ बढी कामदार गरी १२ हजार ५० जना गएका छन् । मलेसियापछि दोस्रो स्थानमा रहेको कतारमा भदौमा ६ हजार ९ सय ८२ जना गएका छन् । साउन महिनामा ६ हजार ५ सय ८ जना कामदार कतार गएका थिए । तेस्रो स्थानमा रहेको यूएईमा भदौमा ४ हजार ७ सय ७५ जना गएका छन् । साउन महिनामा ४ हजार ४ सय ३४ जना कतार गएका थिए ।
साउदी जाने क्रम भदौ महिनामा पनि सुधार आउन सकेन आर्थिक मन्दिपछि ओरालो लागेको यो देशमा साउनमा ४ हजार ५७ जना कामदार गएका थिए । साउदी अरबमा भदौ महिनामा त्यसभन्दा केही
बढी ४ हजार ५ सय २८ जना कामदार गएका छन् । भदौ महिनामा कुवेत जाने कामदारको संख्या साउनको तुलनामा आधा भन्दा बढीले बृद्वि भएको छ । साउन महिनामा कुवेतमा ६ सय ७२ जना कामदार गएका थिए भने भदौमा ६० जना महिला सहित १ हजार ४ सय जना कामदार वैदेशिक रोजगारीका लागि गएका छन्  ।
साउनमा बहराइनमा ४ सय ८ जना कामदार गएका थिए भने भदौमा २ सय २५ जना मात्र गएका छन् । त्यसैगरी सोही अवधीमा टर्कीमा ३३ जना, पोल्याण्डमा १ सय ३२ जना, ओमनमा ३ सय ७ जना, जोर्डनमा ३ सय ५० जना, माल्दिभ्समा २ जना, मकाउ २० जना, हङकङमा ७ जना, साइप्रसमा १ सय २२ जना नेपाली कामदार वैदेशिक रोजगारीका लागि गएका छन् भने भदौमा अल्जेरियामा १ सय १३ जना, अफगानिस्तानमा २६ जना, जोर्डनमा ३ सय ५० जना र रोमानियामा १३ जना गएका तथ्याङ्कले देखाएको छ ।

comments