-घनश्याम आचार्य

विगत बिस बर्षदेखि जनप्रतिनिधि विहिन बनेको स्थानीय तहले निर्वाचित जनप्रतिनिधि पाउन थालेका छन् । पहिलो चरणको निर्वाचन मार्फत जनप्रतिनिधिहरू चुनिईसकेका छन् भने अब दोस्रो चरणको निर्वाचन मार्फत जनप्रतिनिधिहरूका लागि असार १४ गते निर्वाचन हुन गईरहेको छ । स्थानीय स्तरमा गर्नुपर्ने कामहरू जस्तै सडक यातायात, पुलपुलेसा, सिंचाई, जलविद्युत लगायतका कामहरू विगत लामो समयदेखि अवरुद्ध भईरहेको सन्दर्भमा जन निर्वाचित प्रतिनिधिहरूको आवागमनसंगै स्थानीय जनतामा उत्साह पलाएको हुनुपर्दछ । स्थानीय स्तरमा गर्नुपर्ने विकास निर्माण लगायतका काम गर्ने जिम्मेवारी  निर्वाचित प्रतिनिधिहरूको भएको हुनाले उनीहरूको ध्यानाकर्षण मुख्य गरेर विकास निर्माण जस्ता जनसरोकारका विषयमा केन्द्रित हुन जरुरी छ । जनप्रतिनिधिहरू जनताका काममा व्यस्त हुनुका साथै आफ्नो क्षेत्रमा के कस्तो विकास निर्माण तथा अन्य सुधारका कामहरू गर्नुपर्ने हो त्यसतर्फ उनीहरूको ध्यान आकृष्ट हुनै पर्दछ । आफ्नो क्षेत्रमा गनुपर्ने कामको सुचि नै बनाएर योजनाबद्ध ढंगबाट काम गर्नेतर्फ उनीहरूको लगाम हुनुपर्ने बेला आईसकेको छ ।
वर्षौंदेखि पूरा हुन नसकेका जनताका काम अघि बढाउन अब ढिला गर्ने बेला छैन् । कतिपय गाउँपालिकाहरूमा जनप्रतिनिधिहरूलाई बसेर काम गर्ने कार्यालयको व्यवस्था समेत हुन सकिरहेको छैन भन्ने गुनासाहरू व्यापक रूपमा आईरहेका छन् । यसको व्यवस्था सरकारले अविलम्भ गर्नै पर्दछ । राजनितिक दल र तिनका  जनप्रतिनिधिहरूले चुनावका बेला घोषणापत्र मार्फत व्यक्त प्रतिबद्धताहरू पूरा गर्नेतर्फ केद्रित हुनुपर्ने हो तर पछिल्लो चरणमा निर्वाचित जनप्रतिनिधिहरू मासम्मान लागि दौडधुप गर्न थालेका गुनासाहरू सतहमा आएका छन् । जनताको अमूल्य मतद्धारा चुनिएका जनप्रतिनिधिहरू जनमुखी काममा अव्यस्त रहनुभन्दा पनि मानसम्मानको भोको भएसरी मानसम्मानका लागि दौडधुपमा व्यस्त रहेको र व्यक्ति तथा संघसंस्थाहरू सम्मानका नाममा फजुल खर्च गर्नमा उद्यत रहेको कुरा पछिल्लो समयमा देखिएको गतिविधिले नै स्पष्ट बुझ्न सकिन्छ । स्थानीय जनप्रतिनिधिहरू मानसम्मानमा झुम्मिएको पाईएपछि केही राजनितिक दलका शिर्ष नेताहरूले मानसम्मानको पछि नलागि जनताका काममा लाग्न निर्देशन नै दिन थालेका छन् । वास्तवमा पहिलो चरणको निर्वाचनमा निर्वाचित जनप्रतिनिधीहरू जनताका काममा समय दिन सकिरहेका छैनन् । आज कुन वडा, भोली कुन वडा, तथा कुन संघसंस्थाले सम्मान गर्दैछन त्यसैतर्फ उनीहरूको अमूल्य समय बित्ने गरेको पाईएको छ । जनताको अमूल्य मतद्धारा चुनेर पठाईएका जनप्रतिनिधिहरूले यस  किसिमका गतिविधिहरूमा समय खर्चन छोडेर जनताप्रतिको आफ्नो दायित्व पूरा गर्नेतर्फ लाग्नै पर्दछ ।
जनप्रतिनिधिहरूलाई खुशी पारेर वाञ्छित फल प्राप्त गर्ने ध्ययले पनि विभिन्न संघसंस्था तथा व्यक्तिहरू जनप्रतिनिधिहरूको मानसम्मानमा लागिपरेका वा उनीहरूको मन जितेपछि सबथोक हुने सोचेर नै हो या अरु नै नियतले जनप्रतिनिधिहरूप्रति सम्मानको ओइरो लागेको हो सर्वसाधारण जनतालाई बुझ्न कठिन भईरहेको देखिन्छ । वास्तवमा अमूल्य मत दिएर जिताएर पठाउनु र जितेर जानु नै सबैभन्दा ठूलो सम्मान हो भन्ने कुरा सम्मान दिने र लिने दुवै पक्षले मनन् गर्नुपर्ने विषय हो । अर्को कुरा असल जनप्रतिनिधिका लागि अचाक्ली सम्मानले राम्रो संकेत दिदैन पनि । यसतर्फ पनि विचार पु¥याऔं । जनप्रतिनिधिहरूले जनमतलाई शिरोधार्य गरेर तन, मन, वचन र कर्मले जनहितकारी कार्य गरेर आफ्नो उचाई बढाउन सक्नुपर्दछ । जनप्रतिनिधिहरू ! तपाईहरूको काँधमा ऐतिहासिक जिम्मेवारी पूरा गर्ने अविभारा छ र ईमान्दारीका साथ काम गरेमा मात्र लक्ष्यमा पुग्न सकिनेछ । असल काम गर्नेहरू नै समाजबाट पुजित र सम्मानित हुन्छन् भन्ने कुरालाई पनि मनन् गर्दै अघि बढौं र जनताहरूले पनि स्थानीय स्तरमा गर्नुपर्ने काममा उनीहरूलाई घच्घच्याऔं, खवरदारी गरौं र आवश्यक सहयोग गरौं । आजको आवश्यकता पनि यहि नै हो ।

comments