-घनश्याम आचार्य
देश र जनताका हक अधिकारका लागि प्राण आहुति गर्ने सहिदहरूको सपना अझै पूरा हुन सकेको छैन । वि.सं.१९९७ देखि वि.सं.२०६२÷६३ सम्मका प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलनहरूमा प्राण आहुति गर्ने शहिदहरूको एकिन तथ्यांक राज्यसंग छैन । देश र जनताका लागि सहादत प्राप्त गरेका मध्ये कसलाई सहिद भन्ने वा वास्तविक सहिद को को हुन भन्नेमा नै अन्यौलको स्थिति देखिन्छ । नेपालको पहिलो सहिद लखन थापालाई मानिन्छ । त्यसपछि वि.सं.१९९७ मा निरंकुस जहानियां राणा शासनको अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापनाका लागि प्राण आहुति दिने चार महान् सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दको शपना ७६ वर्षसम्म पनि पूरा हुन सकेको छैन । मुलुकमा जनताको शासन स्थिपित गरी सुशासन कायम गरेर उनीहरूको हकधकिार सुनिश्चित गर्ने महान सहिदहरूको सपना साकार गर्ने कार्य ओझेलमा पर्दैजांदा मुलुक अस्थिरतातर्फ धकेलिएको कुरालाई नकार्न मिल्दैन् ।
मुलुकमा पछिल्लो समयमा दुर्घटनामा र अन्य झैझगडमा ज्यान गुमाएका व्यक्तिहरूलाई समेत सहिद घोषणा गर्नुपर्ने र आर्थिक सहयोगका लागि राजनितिक र अन्य क्षेत्रबाट दबाब दिने कुसंस्कृतिले देश,जनताका लागि प्राण दिने वास्तविक सहिदको मर्म र भावनामा चोट पुगेको छ । सहिदका सपना पूरा गर्ने नाममा राजनितिक दलहरूबाट बेलाबेलामा आउंने खोक्रा प्रतिबद्धता कागजमैं सिमित बनेको देखिन्छ । देश र जनताका लागि विभिन्न समयमा भएका जनआन्दोलनका क्रममा सहादत प्राप्त गरेका शहिदहरू र अन्य घटना र दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूलाई समेत एउटै परिभाषा र दर्जामा राखेर हेर्ने प्रवृतिको अन्त्य नभएसम्म वास्तविक सहिदहरूको सम्मान हुन सक्दैन् । अन्य पहिचानका आन्देलनपछि सहादत प्राप्त गर्ने व्यक्तिलाई सहिद घोषणा गर्ने प्रचलन नितिगत रूपमैं रोकिन जरुरी छ ।शहिदका भावनाको कदर र सम्मान गर्न शहिदको भरिभाषा र मुल्यमान्यतालाई हात्मसाथ नगरी हुंदैन यसतर्फ सम्वन्धित सवैको धयानाकर्षण हंन अत्यावश्यक देखिन्छ । मुलुकमा सहिदको सम्मानमा मनाउंदै आईएको शहिद सप्ताहका अवसरमा सरकारको ध्यानाकर्षण हुंनैपर्दछ । वर्षेनी मनाईने औपचारिक कार्यक्रमले मात्रै सहिदको सम्मान हुंन सक्दैन् ।
सरकारले सहिदको सम्झनामा विसं २०१२ सालदेखि काठमाडौ महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्षको माघ १० देखि १६ गतेसम्म विभिन्न काइक्रम सहित सहिद सप्ताह मनाउंदै आएको छ यो वर्ष पनि सोमबारदेखि सहिद सप्ताह सुरु भएको छ । वि.सं १९९७ माघ १० देखि १६ गतेभित्र ४ सहिदलाई फरक फरक दिनमा फाँसी दिएको थियो सोही सम्झनामा साताव्यपि कार्यक्रम गर्दै माघ १६ लाई सहिद दिवसका रूपमा मनाउने गरिएको छ ।तर सहिदका सपना ,मर्म र भावना अनुसार मुलुकमा राजनितिक स्थायित्वसंगै विकास समृद्धि र हक अधिकार सुनिश्चित गर्नेतर्फ नडो¥याएसम्म औपचारिक रूपमा सहिद दिवस मनाउनुको औचित्य देखिन्न । यसतर्फ सरकारको घैंटामा घाम लागोस् । सहिद सप्ताहका अवसरमा ज्ञात अज्ञात सहिदहरूप्रति जनस्तरबाट सम्मान प्रकट गरौं र वास्तविक सहिदहरूको सपना पूरा गराउने र उनीहरूको सम्मानका लागि दबाब सृजना गरौं । अमर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जलि ।

comments