काठमाडौ । आन्तरिक रोजगारी अभावमा विदेशिनेको संख्या दिनानुदिन बढिरहेको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघ महिनाको तथ्यांक अनुसार रोजगारीको खोजीमा खाडीलगायत मुलुकलाई गन्तव्य बनाएर महिला र पुरुष गरी ६२ हजार दुईसय ८४ जना युवायुवती विदेशिएका छन् । तथ्यांक अनुसार ५८ हजार ४ सय ४७ पुरुष र पाँचहजार ८ सय ३७ महिला गरी कुल ६२ हजार दुईसय ८४ नेपाली विदेशिएका हुन् । यो संख्या संस्थागत,व्यक्तिगत र पुनः श्रम स्वीकृति लिनेको भएको विभागको तथ्यांकमा उल्लेख छ । तथ्यांक अनुसार सबैभन्दा बढी १९ हजार ७ सय ८३ जनाले मलेसिया जानका लागि श्रम स्वीकृति लिएका छन् भने दोस्रोमा कतार १२ हजार ७ सय ४,तेस्रोमा साउदी अरेबिया १० हजार ५ सय ७६ र चौथोमा युएईका लागि नौ हजार सातसय ७० र पाँचौंमा दुईहजार ९ सय ९२ जना कुवेत गएका छन् । त्यसैगरी साईप्रस ४ सय १७,क्रोयसिया ४ सय ७१,जापानका लागि ८ सय ८२,माल्टाका लागि दुई सय ७०,पोल्याण्डका लागि ७ सय ४०, पोर्चुगलका लागि ४५ र रोमानियका लागि आठसय ४ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । नेपाली कामदारका लागि आकर्षक गन्तव्य मानिएको मलेसियाको रोजगारीमा जाने नेपालीको संख्या क्रमः बढ्न थालेको पाईएको छ । हाल मलेसियामा ६ लाखको हाराहारीमा नेपाली कामदार कार्यरत रहेको पाईएको छ । पछिल्लो समयमा त्यहाँ कार्यरत नेपाली श्रमिकलाई ओटीको समस्याले चिन्तामा परेको कुरा पनि बाहिर आएको थियो ।
केही साता अघि मलेसियन गृह मन्त्रीले गरेको नेपाल भ्रमणका क्रममा विगतमा भएको श्रम समझदारी परिमार्जन गर्ने सहमति पनि भएको छ । भ्रमणका क्रममा मलेसियन गृह मन्त्रीले नेपाली कामदारलाई प्राथमिकता दिईने विश्वास पनि दिलाएका थिए ।
कामको खोजीमा एकै महिनामा ६४ हजार विदेशिए,मलेसिया पहिलो गन्तव्य
