सेकुवा कर्नरबाट राष्ट्रसेवकहरू पक्राउ

काठमाडौं । राज्यकोषबाट सेवासुविधा एवम् सेवाग्राहीबाट घुस लिई सेकुवा कर्नरमा रसपानसहित तात्तातो सेकुवा खाइरहेका राष्ट्रसेवकहरू पक्राउ परेका छन् । कार्यालयका सेवाग्राहीसँग विविभन्न बहानामा घुस लिदै आएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ति राष्ट्रसेवकहरूलाई पक्राउ गरेको हो ।
जिल्ला मालपोत कार्यालय भक्तपुरमा कार्यरत मालपोत अधिकृत चक्रबहादुर श्रेष्ठ, नायब सुब्बा (नासु) राजकुमार घिमिरे, अर्का नासु दिनेश रेग्मी र खरिदार दुर्गाप्रासद पोखरेल अख्तियारको फन्दामा परेका हुन् । उनीहरूले आपसी मिलेमतोमा सेवाग्राहीसँग घुस माग गरेका थिए । संयुक्त श्रेस्ता कायम भएको जग्गाबाट सार्वजनिक बाटो कायम गरी बाँकी रहेको जग्गा अन्य व्यक्तिको नाममा खर्ता नामसारी गरिदिने भन्दै सेवाग्राहीसँग उनीहरूले घुस मागेको अख्तियारले जनाएको छ ।
सेवाग्राहीसँग घुस माग भएको भन्ने उजुरी तथा गुनासोलाई आधार बनाएर आयोगको केन्द्रिय कार्यालय टङ्गालबाट गएको एक टोलीले ५० हजार रूपैयाँ घुस लिईसकेको अवस्थामा कौशलटारस्थित वेभ सेकुवा कर्नरबाट शुक्रबार पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

comments