काठमाडौ । सरकारले  आगामी आर्थिक बर्षमा धान उत्पादन बढाउने लक्ष्य लिएको छ । कृषि मन्त्रालयले आव ०७४÷७५ मा ५४ लाख मेट्रिक टन धान फलाउने  योजना राखेको छ । मन्त्रालयका अनुसार आगामी तीन बर्षमा धानमा नेपाललाई आत्मनिर्भर बनाउन सरकारले विभिन्न प्रकारका बिशेष प्राथमिकताका सञ्चालनमा ल्याइएको बताईएको छ ।
धानमा नेपाललाई आत्मनिर्भर बनाउन गत आर्थिक बर्ष २०७१÷७२ देखि २० जिल्लामा मसिना तथा बास्नादार धान उत्पादन प्रवद्र्धन कार्यक्रम ल्याइएको छ । यस्तै २०७२÷७३ देखि तराईका विभिन्न १५ जिल्लामा बृहत्तर धान उत्पादन कार्यक्रम सञ्चालनमा ल्याइएको छ । यो कार्यक्रम अहिले ३५ जिल्लामा बिस्तार गरिएको छ । हाल यो कार्यक्रम आगामी आर्थिक बर्ष २०७४÷७५ देखि स्थानीय तहलाई जिम्मा लगाइएको छ ।
धानमा मुलुकलाई आत्मनिर्भर बनाउन सरकारले चालु आर्थिक बर्ष २०७३÷७४ देखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासमेत सञ्चालन गरेको छ । यो परियोजनाअन्तर्गत  २४ ब्लक, ५ जोन र एक सुपरजोनमा धानवालीलाई समावेश गरिएको छ ।
त्यसैगरी चैते धानलाई प्रवद्र्धन गर्न करिब ५० जिल्लामा चैते धानको क्षेत्रफल विस्तार गरी अहिले एक लाख १८ हजार  हेक्टरबाट विस्तार गरी तीन लाख हेक्टरमा पुरयाउने योजना अघि बढाइएको छ । मन्त्रालयकाअनुसार चालू आर्थिक वर्ष २०७३÷७४ मा भने हालसम्मका सबै ‘रेकर्ड’ तोड्दै ईतिहासमै पहिलो पटक ५२ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालू आर्थिक वर्ष २०७३÷७४ को १० महिनामा २० अर्ब २६ करोड ३६ लाख १५ हजार मूल्य बरारबको धान भारत, इटली, बहराइन, चीन, थाइल्यान्ड, कोरिया, जापान, मलेसिया, बंगलादेश अमेरिका, सिंगापुर र भियतनामबाट तीन लाख ५९ हजार नौं सय ९१ मेट्रिक टन विभिन्न प्रकारका चामल आयात भएको थियो ।
तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्ष २०७२÷७३ मा भने २२ अर्ब ८० करोड ३० लाख ६५ हजार मूल्य बराबरको पाँच लाख ३९ हजार ६ सय मेट्रिक टन चामल आयात भएको थियो । आयात हुने अधिकांश चामलको परिमाणमध्ये मसिनादार र वास्नादार चामल छन् । हाल नेपालमा १५ लाख ५२ हजार हेक्टरमा धानको खेती हुँदै आएको छ । नेपालको कुल खेती हुने क्षेत्रफलमध्ये ५०.२ प्रतिशत जग्गामा धानको खेती हुन्छ । यसमध्ये तराईमा ६९.१ प्रतिशत, पहाडमा २६.८ प्रतिशतमा र उच्च पहाडमा ४.१ प्रतिशत हेक्टरमा धानको खेती हुनेगरेको छ ।
नेपाल कृषि अनुसन्धान परिषद(नार्क) ले विकास गरेको ६३ प्रकारका सूचित धानको जातको बीउ प्रयोग गरी किसानले धान उत्पादन गर्दै आएका छन् । नेपालमा उन्नत जातको धानको विकास भएपनि किसानको घरदैलोसम्म पुग्न नसक्दा अपेक्षित रूपमा धान उत्पादन हुन नसकेको र  किसानहरूले देखासिकी गरी प्रयोग गरेका कारण किसानहरूले ठूलो क्षति व्यहोर्नुपरेको विज्ञहरू बताउँछन् ।
यस वर्षको आर्थिक सर्वेक्षणअनुसार यो वर्ष कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा कृषिको योगदान २८.९ प्रतिशतमा सीमित रहने उल्लेख छ । अघिल्लो आर्थिक वर्ष जीडीपीमा कृषिको योगदान ३१ प्रतिशत थियो । अघिल्लो आर्थिक वर्षको भूकम्प र त्यसपछिको नाकाबन्दीका कारण जीडीपीमा कृषि क्षेत्रको हिस्सा घट्दै गएको हो । कृषिमा धानको योगदान करिब २१ प्रतिशत छ । कुल खाद्यान्न मध्ये धानले ५० प्रतिशत हिस्सा ओगटेको भए पनि कृषिमा आधुनिकीकरण हुन नसक्दा धानबालीमा नेपाल आत्मनिर्भर बन्न नसकेको बताईन्छ ।

comments