काठमाडौं । वि.सं.२०७२ सालदेखि उपत्यकाबाट स्मार्ट सवारी साधन अनुमतिपत्र वितरण सुरु गरेको सरकारले अब  उपत्यकाबाहिर पनि स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रिया सुरु गर्ने भएको छ । यातायात व्यवस्था विभागले उपत्यकाबाहिर पहिलोपटक पोखरामा यसै साताबाट स्मार्ट लाइसेन्सका लागि आवेदन लिन सुरु गर्ने जानकारी दिएको छ ।
विभागले यसै महिनाभित्र अन्य १२ वटै अञ्चल यातायात ब्यवस्था कार्यालयमा स्मार्ट लाइसेन्स वितरणको लागि तयारी सक्ने विभागका महानिर्देशक रूप नारायण भट्टराईले बताएका छन् । दोस्रो चरणमा अब अञ्चल यातायात कार्यालय पोखराबाट उपत्यका बाहिर पनि स्मार्ट लाइसेन्स वितरण सुरु गर्ने तयारी गरिरहेको बताईएको छ । असारको अन्तिमसम्ममा सबै स्थानबाट स्मार्ट लाइसेन्स वितरण गर्ने योजना अनुरूप तीव्र गतिमा काम भईरहेको जनाउदै भने बमोजिम योजना कार्यान्वयन हुन सकेको खण्डमा चाँडै नै मोफसलका धेरै स्थानमा स्मार्ट लाइसेन्स बाँड्ने काम अघि बढाईने पनि विभागले जनाएको छ ।
विभागले सबै यातायात कार्यालयमा स्मार्ट लाइसेन्सका लागि कम्प्युटरसहित सबै हार्डवेयरहरू जडान गरिसकेको छ । सोमबार स्मार्ट लाइसेन्सको सफ्टेवर
जडानका लागि मद्रसास सेक्युरेटी प्रिन्टर्सको टोली पोखरा गएको र मंगलबारबाट स्मार्ट लाइसेन्स वितरणका लागि आवश्यक पक्रिया सुरु भईसकेको  छ । काम सुरु भएपछि उपत्यकाबाहिर पनि नयाँ लाइसेन्स लिने, वर्ग थप्ने, नवीककरण गर्ने र प्रतिलिपि बनाउनेले मात्रै स्मार्ट लाइसेन्स पाउनेछन् । उपत्यकाबाहिर सेवा विस्तारका विषयमा तयारी गर्न स्मार्ट लाइसेन्सको ठेक्का पाएको मद्रास प्रिन्टर्सका प्रतिनिधि नेपालमा छन् । उनीहरू आएर पोखरामा लाइसेन्सको सर्भर व्यवस्थापन गर्नेछन् भने अन्य प्राविधिक परामर्श पनि दिनेछन् । विभागले अहिले एकैपटक ७ लाख ५० हजार स्मार्ट लाइसेन्स आपूर्ति गर्ने गरी ग्लोबल टेण्डर आहृवान गरिसकेको छ ।
आगामी पाँच वर्षभित्र स्मार्ट साईसेन्स वितरण गरिसक्ने योजना अन्तर्गत प्रकिया अघि बढेको हो । स्मार्ट लाइसेन्स अभावले उपत्यकाबाहिर पुरानै लाइसेन्स बाँडिरहनुपर्ने अवस्था अन्त्य गर्न यातायात ब्यवस्था विभागले एकैपटक ७ लाख ५० हजार लाइसेन्स आपूर्तिका लागि टेण्डर आह्वान गरेको जनाएको छ । यसमा अन्तर्रा्ष्ट्रिय सेक्युरेटी प्रिन्टर्सहरूले दरखास्त हाल्न सक्नेछन् । विभागका अनुसार सबै प्रक्रिया सरल रूपमा सकिए आगामी कात्तिकसम्म यो टेण्डरमार्फत स्मार्ट लाइसेन्सको आपूर्ति भइसक्ने बताईएको छ । अहिले विभागले एडीबीको सहयोगमा सीधै मद्रास प्रिन्टर्ससँग कार्ड ल्याएर वितरण गरिरहेको छ । सुरुमा छापिएका १ लाख ६० हजार कार्ड सकिएपछि विभागले ४५ हजार कार्ड ल्याएको थियो । त्यो पनि वितरण भएर सकिएपछि पुनः ८० हजार स्मार्ट लाइसेन्स ल्याउन लागिएको छ । त्यसमध्ये १० हजार कार्ड आइसेकको छ भने ७० हजार केही दिनमै आइपुग्ने जानकारी पनि विभागले दिएको छ ।
यातायात व्यवस्था विभागले बाग्मती अञ्चल यातायात व्यवस्था कार्यालयबाट झण्डै २ लाख लाइसेन्स वितरण गरिसकेको छ । पुरानो कागजी लाइसेन्स विस्थापित गरेर स्मार्ट लिन चहानेलाई भने अझै पनि विभागले वितरण गर्न सकेको छैन । विभागसँग अहिले स्मार्टकार्ड प्रिन्ट गर्न ३ वटा मात्रै मेसिन छ । यसमा २ वटा मेसिन बिग्रिएको छ । पुरानो प्रविधिको सवारी चालक अनुमतिपत्र विस्थापन गर्न आधुनिक विद्युतीय प्रविधिको स्मार्ट कार्डमा रूपान्तरण गर्न स्मार्ट प्रविधि सुरु गरेको सरकारले अब देशका १२ वटा कार्यालयहरूबाट स्मार्ट लाईसेन्स वितरण तयारी गरेको हो ।

comments