विद्यार्थी सङ्गठन सुध्रिन आवश्यक

-घनश्याम आचार्य
मुलुकमा प्रजातन्त्र प्राप्तीका लागि भएका आन्दोलन सफल बनाउन विद्यार्थीहरूले खेलेको भूमिकालाई नजरअन्दाज गर्न मिल्दैन । विद्यार्थी हकअधिकारका लागि स्थापित विद्यार्थी संगठनहरूले विद्यार्थी हकहितका साथै मुलुकमा समय–समयमा भएका परिवर्तनकारी आन्दोलनहरूमा अग्रणी भूमिका निभाएका छन् । देशको हरेक परिवर्तनका संवाहक बनेका विद्यार्थीहरूले अव मुलुकको बदलिदो राजनितिप्रति सचेत, संम्वेनशील र अद्यावधिक हुनुपर्ने आवश्यकता टट्कारो रूपमा अगाडि आएको छ । लामो समयपछि घोषणा गरिएको स्ववियु निर्वाचनको यस घडीमा विद्यार्थी संगठनहरूले आफूलाई संयमित, मर्यादित र जिम्मेवार भएर प्रस्तुत हुने बेला आएको छ । विद्यार्थी भनेका देशका विवेकशील, प्रबुद्ध, प्राज्ञिक र सचेत वर्ग भएकाले उनीहरूले एकअर्का संगठनमाथि कुटपिट हिंसा, झडप, आगजनी जस्ता कार्य उनीहरूका लागि सोभनीय विषय पक्कै होईन् । निर्वाचनको विषयलाई लिएर विद्यार्थी संगठनहरूबीच विगतदेखि नै यस किसिमका गथिविधि देखिदै आइएको छ, त्यसले आजसम्म पनि निरन्तरता पाईरहेको छ । यसतो प्रवृतिबाट विद्यार्थीहरू माथि उठ्न किन सकेनन् त ? यो उनीहरूको मात्रै दोष हो या मुलुकको असल राजनितिक संस्कृतिको अभावले, यो कुरालाई विद्यार्थी संगठनका साथै माउ पार्टीका नेताहरूले पनि बुझ्नु पर्दछ ।
मुलुकमा लोकतान्त्रिक व्यवस्थासंगै नयाँ संविधान जारी भई कार्यान्वयनको अवस्थामा रहेको स्थितिमा मुलुकमा विधिको शासन र मुल कानूनको कार्यान्वयन झनै चूनौतिका रूपमा खडा भईरहेको छ । देशका राजनितिक दल र तिनका भातृ संगठनहरू थप सम्वेदनशील र जिम्मेवार हुनुपर्ने स्थितिमा विद्यार्थी संगठनहरू राजनितिक प्रभावबाट मुक्त हुन सकिरहेका छैनन् र माउ पार्टीहरूले पनि विद्यार्थीहरूलाई आफुअनुकुल प्रयोग गर्ने प्रवृत्ति अझै पनि हाबी भएका कारण पनि विद्यार्थी संगठनहरूमा असहिष्णु व्यवहार देखिने गरेको ठम्याई जानकारहरूको छ । विद्यार्थीवर्ग आफू सचेत र जिम्मेवार हुँदाहँुदै पनि माउ पार्टीको निर्देशन मान्नै पर्ने वाध्यता ति सङ्गठनमा देखिन्छ । पार्टीले स्ववियु निर्वाचनलाई आफ्नो प्रतिष्ठाको विषय बनाउने गरेकाले पनि विगतदेखि नै स्ववियु निर्वाचन आतंकपूर्ण बन्ने गरेको छ । यो राम्रो होईन । किन कि विद्यार्थी वर्ग आफैं सचेत वर्ग भएकाले पार्टीको दव्दबाबाट माथि उठ्न जरुरी छ ।
त्यसैले आज हुन गईरहेको स्ववियु निर्वाचन शान्तिपूर्ण ढङ्गबाट सम्पन्न हुनुपर्दछ । स्ववियु निर्वाचन कार्यक्रम सुरु भएदेखि निर्वाचनको विषयलाई लिएर उपत्यकाका क्याम्पस र देशैभरीका क्याम्पसहरूमा हिंसा, तोडफोड र आगजनी जस्ता घटनाहरू भए त्यसले मुलुकको लोकतान्त्रिक विधि र पद्धतिको नै उपहास भएको महसुश आम रूपमा गरिएको छ । यस्तो गतिविधिबाट विद्यार्थी वर्ग माथि उठ्नै पर्दछ । साथै आतंकपूर्ण क्रियाकलाप त्यागेर संयमित, भद्र र जिम्मेवार ढङ्गले लोकतान्त्रिक विधिबाट स्ववियु निर्वाचन सम्पन्न गर्ने तथा विद्यार्थी नेतृत्व चयन गर्दा माऊ पार्टीको दबाब भन्दा पनि विद्यार्थीहरूको हकहित र अधिकारका लागि काम गर्न सक्ने सक्षम नेतृत्व चुन्न सकौँ । आम विद्यार्थी वर्गको ध्यान यसैतर्फ केन्द्रित होस् ।

comments